
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ ।
संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको बैठक बसेको हो ।
संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापतिहरु चयनको विषयमा छलफल गर्न सोमबार सभामुखसहित ३ दलका शीर्ष नेताहरुको बैठक बसेको बताइएको छ ।
सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरुसहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । प्रमुख सचेतकहरुले शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने सुझाव दिएपछि सभामुखले सोमबार प्रतिनिधिसभाको बैठक बस्नु अघि शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो ।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे डाकिएको छ । प्रतिनिधिसभाको बैठक बसेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वन गर्ने लगायत कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे डाकिएको छ ।
प्रतिक्रिया दिनुहोस्