२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


जुम्लामा चामल अभाव


234
Shares

काठमाडौं । जुम्ला सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ ।

डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो ।

चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त ८ हजार एक सय ४७ क्विन्टल चामलको कोटा रहेको थियो ।

अहिले डिपोमा ९ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ । मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसकिने कार्यालय प्रमुख विष्टको भनाइ छ ।

कारागारका लागि दुई सय ८० क्विन्टल र जन्म र मृत्युका लागि एक सय ८० क्विन्टल चामल छुट्याइएको छ । थप आवश्यक दुई हजार क्विन्टल चामल माग गरिएको छ । मौज्दात भएको चामल कारागार, विपत् र जन्म, मृत्युका लागि मात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुने गरी न्यूनतम दुई हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ । सरकारले जन्म र मृत्युमा प्रतिव्यक्ति २० केजी चामल दिने व्यवस्था गरेअनुसार जन्ममा सात सय ८५ र मृत्युमा ५९ जनालाई चामल वितरण गरिएको छ ।

यसैगरी सो चामल लिन आउने व्यक्तिलाई नियमानुसार चार लाख २३ हजार ज्याला रकम प्रदान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ । जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काइगाउँ डिपोका लागि एक सय ७७ क्विन्टल र डोल्पाको सर्मीका लागि सात सय ५० क्विन्टल चामल पठाएको उक्त कार्यालयले जनाएको छ ।