१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु


624
Shares

सर्लाही । सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गढिमाईबाट बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढिमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पक्की पुल भएपनि अविरल वर्षाका कारण पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ ।

यस्तै, चुरे क्षेत्रमा परेको निरन्तर वर्षासँगै आएको बाढीले धनुषामा तीन जनालाई बगाएको छ । बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएकोे प्रहरीले जनाएको छ । जनकपुरको मिथिला नगरपालिका–२ को अनन्तपुरमा खोलाले बगाउँदा स्थानीय १६ वर्षीय अजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खोला तर्ने क्रममा बाढीले बगाएका उनको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको हो । यस्तै कमला नदीमा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बाढीले गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र ३० वर्षीय माया परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

श्रीमान–श्रीमती रहेका उनीहरूलाई नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले बगाएको थियो । यसबिच कमला नदिमा पानीको सतह बढेकाले स्थानीय प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।