७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आत्तिएका यादव र नडगमगिएका प्रचण्ड


4.472k
Shares

काठमाडौं । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ ।

न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह मन्त्रालयले संघर्ष समितिसँग गत मंगलबार सहमति गरेको थियो ।

सहमतिपत्रमा घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिनेलगायतका विषय उल्लेख गरिएको छ । सो सहमति भएको पत्र सार्वजनिक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव आत्तिएका छन् ।

किनभने यादवसहितका नेताविरुद्ध किटानी जाहेरी परेको छ । पीडित परिवारले यादवकै योजना एवं निर्देशनमा २८ जनाको हत्या हुनेगरी गौर हत्याकाण्ड भएको बताउँदै आएको छ ।

गौर हत्याकाण्डका पीडितसँग सरकारले सहमति गरेको पत्र पढेपछि यादवले पार्टीको विशेष बैठक बुधबार बोलाएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको छानबिन गरेर आफूहरूलाई जेल पठाउन खोजेको र अब सरकारको विकल्पबारे अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।