१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार ३ अर्ब


195
Shares

काठमाडौं । साताको सुरुको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आयो । गत साता पछिल्ला दिन सामान्य अंकले हरियो रहेको नेप्से यसदिन १४ अंकले उकालो लागेर २ हजार ८० पुग्यो ।

पछिल्ला दिनका तुलनामा कारोबार बढेर ३ अर्ब नाघ्यो । वित्त, लघुवित्त, उत्पादनमूलक र अन्य समूह झिनो अंकले रातो रहेबाहेक बाँकी ९ वटा समूह हरियो रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको बृद्धि आयो । होटल तथा पर्यटन समूहमा पनि २ प्रतिशत हाराहारीको बृद्धि आयो ।

वाणिज्य बैंक र जलविद्युत समूह पनि १ प्रतिशत बराबरले उकालो लाग्दा बाँकी समूह सामान्य अंकले हरियो रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर ३ अर्ब २ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । नेप्से बढेपनि यसदिन कमाउने भन्दा गुमाउने कम्पनीको संख्या अधिक रह्यो ।

यसदिन सय कम्पनीका शेयर बढ्दा १ सय १७ कम्पनीको घट्यो । आइतबारैदेखि कारोबार भएका थ्रीस्टार हाइड्रो, अपर स्याङ्गे हाइड्रो र माउण्टेन इनर्जीका लगानीकर्ताले १० प्रतिशत बराबर कमाउँदा घोराही सिमेन्टका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत गुमाए ।