
काठमाडौं । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ ।
अनितादेवीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउनुभएको हो ।
अनिता देवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ । गत पुसमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिनुभएको थियो ।
जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो । दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो । सरकार छाडेको चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो । जनमतले सिफारिस गरेकी अनिता साह पार्टी सचिव हुनुहुन्छ ।
धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्