
काठमाडाैं । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ ।
मंगलबार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए । उनीहरुले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौति समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए ।
उनीहरुले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा दायरा बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अझैपनि ४० प्रतिशत कारोबार अवैध माध्यमबाट भइरहेको बताउनुभयो ।
अध्यक्ष मल्लले सरकारले नागरिकतासँगै स्थाई लेखा नम्बर पनि वितरण गर्न माग गर्दै चोरी तस्करी नियन्त्रण गर्नसके राजस्व संकलन वृद्धि हुने बताउनुभयो । उहाँले राजश्व वृद्धि गर्नको लागि खुद्रा व्यापारीहरुलाई ५० लाखको थ्रेस होल्ड बढाएर १ करोड बनाउन माग गर्नुभयो । उहाँले सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्