१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेशसभाबाट दुई वटा प्रतिस्थापन विधेयक निष्क्रिय भएसँगै विभिन्न क्षेत्रमा असर


104
Shares

बिराटनगर । कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद सचिवालयमा दर्ता भएका दुई वटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा ऐन, पहिलो संशोधनअध्यादेश, २०८० र स्थानीय सेवा गठन तथा संचालन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।

ततकालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको दुवै अध्यादेश प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा जेठ १४ गते पेस भएको थियो । जेठ ३१ गते सांसदहरुलाई समेत वितरण गरिएका ती विधेयक संवैधानिक व्यवस्था अनुसार ६० दिनभित्र पारित र प्रमाणीकरण हुन सकेन ।

प्रतिस्थापन विधेयक निस्क्रिय हुँदा प्रदेश लोकसेवा आयोगले खुलाएका केही विज्ञापन होल्ड हुने भएको छ । जसले गर्दा प्रदेश सरकारको कर्मचारी व्यवस्थापनमा समस्या सिर्जना हुने देखिएको छ । निजामतीको केही विज्ञापन आह्वान गरे पनि बीचैमा रोकिएको छ ।

पछिल्लो समय कार्यान्वयन हुन बाँकी रहेका विषयहरु सबै होल्डमा रहेको मुख्यमन्त्री कार्यालयका उपसचिव गणेश नायकले बताउनुभयो । अध्यादेश ल्याउने वा विधेयक नै संसदमा लाने भन्ने विषयमा पनि छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।