१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीका नागरिकलाई हवाई भाडामा सहुलियत दिन माग


611
Shares

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ ।

मंगलबार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदापनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको हो ।

प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्याथी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताउनुभयो । मौसम अनुकुल भएको बेलामा दिनभर उडान गर्न सक्नेगरी निर्णय गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ । कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले विरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरिएको बताउनुभयो ।

त्यसैगरी भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जान दिनका लागि चिन सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ । अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताउनुभयो ।

कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उहाँको भनाई छ । त्यस्तै, कर्णालीमा सेवा दिँदै आएका बिमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ ।