
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फुटपाथ व्यवसायीको मानवअधिकार संरक्षण गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।
फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गरी उनीहरूको अधिकारप्रति संवेदनशील हुन काठमाडौँ महानगरपालिका सहित सम्बद्ध निकायलाई आयोगले आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा नागरिकको स्वास्थ्य, सुरक्षित बसोबास एवं स्वच्छ वातावरणको अधिकारको सम्मान गर्दै मानव बस्तीमा विकास निर्माण गर्दा ठोस योजना र कार्यक्रम सहित गर्न आग्रह गरिएको छ ।
योजना कार्यान्वयन गर्दा नागरिकमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणमा ध्यान दिन, प्रचलित कानून, कार्यविधि र प्रक्रिया पूरा गरी नागरिकले उपभोग गरिरहेको सम्पत्तिको अधिकारको संरक्षण गर्न, नागरिकको सम्पत्ति प्राप्त गर्नै पर्ने अवस्थामा सरोकारवालासँग छलफल गरी प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी मुआब्जा दिएर मात्र लिन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्