१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल


741
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउनुभएको हो । उहाँले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताउनुभयो ।

कृषिमन्त्री भुसालले यद्यपी सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताउनुभयो । उहाँले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाइएको जानकारी दिनुभयो । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ । उहाँले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताउनुभयो ।

मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताउनुभयो ।

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताउनुभयो ।