
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो । तर, उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेस गर्न समय दिनुभएको छ ।
प्रदेशसभा नियमावलीको १२८ को १ मा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सूचना दिने व्यवस्था छ भने ३ मा प्रदेश सचिवले सभामुखसमक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय तोक्ने भनिएको छ । सोही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ र राप्रपाका ६ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्