२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा जंगली जनावरको आंतक, मकैबाली सखाप


897
Shares

दाङ । जंगली जनावरको आतंकका कारण दाङका किसान चिन्तित भएका छन् ।

जिल्लाका पहाडी जंगल आसपासमा बसोबास गर्ने नागरिकहरुले जंगली जनवारको आतंक भोग्दै आएका छन् । बारीमा लगाएको मकैबालीमा बाँदर र जंगली बँदेललेका कारण किसानहरुले निकै सास्ती खेप्नु परेको छ ।

तुलसीपुर ७ का नागरिकहरु आफूले लगाएको अन्नबाली बाँदर र बँदेलले सखाप बनाएपछि चिन्तित बनेका हुन् । जंगलबाट आउने बँदेलले बारीमा लगाएको मकै सिध्याउन थालेपछि उनीहरुले स्थानीय सरकार र सरोकारवालाहरुलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

गाउँ नजिकै जङ्गलमा रहेका बँदेलहरूले रातको समयमा आएर मकै खान थालेपछि उनीहरु समस्यामा परेका हुन् । करिब १५ बिगाहामा लगाएको मकै जंगली बँदेलले खाएर सिध्याउन थालेपछि अनिकाल लाग्ने डर उनीहरुमा देखिएको छ ।

जङ्गलमा बँदेलको संख्या बढ्दै जाँदा अझै धेरै क्षति गर्न सक्ने उनीहरुको भनाई छ । मकै खेती भएको यो क्षेत्रबाट तुलसीपुर ७ मा रहेका श्री गणेश सामुदायिक वन र गरौखाली सामुदायिक बन नजिकै पर्छ । दुई वटा सामुदायिक वनक्षेत्रबाट आउने बँदेलले मकै नष्ट गर्ने गरेको उनीहरूको भनाइ छ । बर्खामा बँदेलका कारण मकै बालीमा र हिउँदका समयमा छाडा पशु चौपायाले बालीनालीमा क्षति पुर्‍याउने गरेको छ ।

गाउँमा जङ्गलबाट आएर बँदेलले मकैबारीमा क्षति गर्ने गरेको र त्यसलाई रोक्नको लागि वन कार्यालय, संघीय र प्रदेश सरकारसँग पनि समन्वय गर्ने तुलसीपुर उपमहानगरले जनाएको छ ।