१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपसभामुखले गलत गर्नुभयो, आज विश्वासको मत लिने सम्भावना टर्‍यो : मुख्यमन्त्री थापा


2.106k
Shares

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत लिने सम्भावना टरेको बताउनु भएको छ ।

उपसभामुख सिर्जना दनुवारले आज १ बजेका लागि विश्वासको मत लिने कार्यसूचि तय गर्नुभएको थियो । तर प्रदेशसभाको बैठक बस्ने दिन उपसभामुख दनुवार उपचारका लागि भन्दै काठमाडौंमा हिड्नु भयो । दनुवार एमालेबाट उपसभामुख बन्नु भएको हो । प्रदेश सभामा नेकपा एमाले र राप्रपा एकातिर छन भने सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी जार्टी अर्काेतिर रहेका छन् । सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापा सरकारमा मन्त्री बन्नु भएको छ । त्यसपछि उपसभामुख दनुवारले सभामुखको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेश सभामा जेष्ठ सदस्यले सभाध्यक्षता गर्ने प्रावधान रहेको छ । प्रदेशसभाका जेष्ठ सदस्य रहेका एमालेका ७ र राप्रपाका एक जनाले बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने संभावना आज टरेको बताउनु भएको हो । उहाँले भन्नु भयो – ‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं ।’ आफैंले तोकेको बैठकमा उपसभामुख अनुपस्थित हुनु गलत भएको समेत मुख्यमन्त्री थापाको भनाई छ ।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद रहेका छन् । उता सत्ता गठबन्धनमा कांग्रेसका २९,माओवादीका १३,एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् । विश्वासको मतको पक्षमा बहुमतका लागि प्रदेश सभाका ४७ जना सांसदको आवश्यकता रहन्छ