२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एनआरएनएको अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा


624
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आगामी अक्टोवरमा हुन लागेको एनआरएनएको सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनए युकेको नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताउनुभयो । उहाँले विस्तृत एजेन्डासहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिनुभयो ।

उपाध्यक्ष श्रेष्ठले संघ अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको बताउनुभयो ।

संघका महासचिव डा. केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडि हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो । उहाँले सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडि बढाउन सक्ने उम्मेदवार महेश श्रेष्ठलाई आफूले अध्यक्ष पदमा समर्थन गर्ने घोषणा गर्नुभयो ।

उपाध्यक्ष नारायण आचार्यले सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरे। उनले उपाध्यक्ष पदमै आफुले फेरि उम्मेदवारी दिन चाहेको बताउनुभयो । त्यस्तै, उपाध्यक्ष हेम राज शर्माले आफु पनि सहकार्य र सहमतिको आधारमा केन्द्रको नयाँ नेतृत्व चयन गर्ने पक्षमा रहेको बताउनुभयो ।

यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनएको सचिव पदमा उम्मेदवारी घोषणा गरेका एनसीसी पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतमले पनि संघमा एकता र सहकार्य अरु बढी आवश्यक रहेको बताए ।

त्यस्तै, युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएले मध्यपूर्वमा कार्यरत २० लाख भन्दा बढी नेपालीहरुको एजेन्डालाई अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले नेपालीहरुले प्रवासमा आर्जन गरेको ज्ञान, सीप र सानोसानो पूँजीलाई एकत्रित गरेर नेपालमा लगानी गर्नु पर्ने बताउनुभयो । उहाँले संघमा व्यक्तिगत स्वार्थ र इगोलाई छाडेर सामूहिकताको आधारमा अगाडी बढ्न पनि सुझाव दिनुभयो ।

समारोहमा गैरआवासीय नेपाली संघका उप महासचिवद्वय रामशरण सिम्खडा, उप महासचिव गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सेना, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएका थिए ।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीन जना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको बताउनुभयो । उहाँले गएको २० वर्षदेखि थाती रहेका मुद्दाहरु समाधान हुने क्रममा रहेको बताउदै आउँदो अक्टोबर महिनाभित्र गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताउनुभयो । उहाँले अब आफु चुनावमा नउठ्ने बताउंदै सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्नुभयो ।