
इलाम । इलाम पर्यटकीय क्षेत्रका नामले परिचित छ । यहाँका पर्यटकीय स्थल घुम्नैपर्ने ठाउँका रूपमा पनि परिचित छन् ।
पर्यटकीय जिल्लाका रूपमा परिचित इलाममा विमानस्थल निर्माण हुँदै गर्दा पर्यटन क्षेत्रले फड्को मार्नेमा इलामवासी खुसी थिए । लामो समयको प्रतीक्षापछि विमानस्थल निर्माण त भयो, तर सञ्चालन हुन नसक्दा इलाममा जहाज चल्ने सपना सपनामै सीमित हुन पुगेको छ ।
पटकपटक सञ्चालन गर्ने प्रयास स्थानीय सरकारले गरे पनि निर्माण भएको विमानस्थलले यतिबेला इलामवासीलाई गिज्याइरहेको छ । प्रत्येक बिहीबार इलाम–काठमाडौं उडान गर्दै आएको नेपाल एयरलाइन्सले २२ जेठ २०८० मा अन्तिम उडान भरेको थियो । त्यसयता यहाँबाट कुनै उडान हुन सकेको छैन ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित व्यावसायिक उडान नहुँदा झन्डै २८ करोड रुपैयाँभन्दा बढीका संरचना प्रयोगविहीन बनेका छन् । यो विमानस्थलमा तारा एयरको टुइनेटर जहाजले २१ जेठ २०७५ मा कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो भने ३६ माघ २०७८ मा नेपाल एयरलाइन्सको ट्विनेअटर जहाजले सफल परीक्षण उडान गरेको थियो ।
निर्माणाधीन विमानस्थलमा परीक्षण उडान सफल भएपछि खुसी भएका इलामवासी नियमित सञ्चालन हुन नसकेपछि दुःखी बनेका छन् । उता, विमानस्थलमा जहाज नआउँदा करोडौंका संरचना प्रयोगविहीन बन्न थालेपछि यहाँबाट जहाज चढ्ने सपना सपनै रहेको भन्दै दुःख व्यक्त गर्न थालेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्