
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
आइतबार ललितपुरमा आयोजित मेरो पोषण साथी मोबाइल एपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।
उहाँले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढीरहेको उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले आधारभुत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्