१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्थाबारे प्रधानमन्त्रीद्वारा जानकारी


65
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताउनुभएको हो । उहाँले दुई वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका भइसकेका, १४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुई वटाको प्रगति ५० प्रतिशत रहेको जानकारी गराउनु भयो ।

उहाँले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताउनु भयो । पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको उहाँको भनाई छ । त्यस्तै लुम्बिनी बिकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालका अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भएपश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाइनेछ ।

यस आयोजनाका लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैया विनियोजन भएको उहाँले बताउनु भयो । मेलम्चि खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी मेलम्चिको पानी वितरणलाई सुचारु गरिने जानकारी उहाँले गराउनु भयो ।

उहाँले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पार्नुभयो ।