१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्छ : अध्यक्ष मल्ल


91
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा अध्यक्ष मल्लले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न दलको राजनीतिक धारणा फरक भएपनि आर्थिक एजेन्डामा एउटै धारणा हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले कालोबजारी ऐन धेरै पुरानो भएको भन्दै समय सापेक्ष बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा पहिला थुन्ने पछि सुन्ने सरकारको प्रवृत्ति रहेको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई थुन्ने भन्दा पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र सबैभन्दा कठिन भएको अवस्थामा सरकारले केही गर्न खोजेजस्तो देखिए पनि नियामक निकायहरुबाट कहिल्यै सहयोग नपाउने महशुस भएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी अर्थमन्त्रालय र राष्ट्र बैंकले काम नगरेको अवस्था रहेको बताउनुभयो । उहाँले चालुपुँजी कर्जामा पनि २५ प्रतिशतबाट ४० प्रतिशत एक वर्ष अघि गरिदिएको भए अर्थतन्त्र चलायमान हुने अवस्था रहेको बताउनुभयो ।

अध्यक्ष मल्लले साना व्यवसायी अहिले समस्यामा रहेको भन्दै साना व्यवसायी पलायन भइरहेकाले यसलाई रोक्न ब्याजदरमा सहुलियत हुनुपर्ने बताउनुभयो ।