
एजेन्सी । ताइवानमा भारी वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित बन्नुका साथै ४० जना घाइते भएका छन् ।
हाइकुई नामक आँधीले ताइवानका अधिकांश झुपडी बस्तीहरु ध्वस्त बनाएको छ । आँधीका कारण यातायात, बिद्यालय र कलेज समेत प्रभावित भएका छन् भने हवाई उडानहरु रद्द गरिएका छन् ।
अहिलेसम्म आँधीबाट ४० जना घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । आँधीको बेगले विद्युत प्रणाली छिन्नभिन्न हुँदा लाखौं घरहरुमा अन्धकार छाएको छ । प्रतिघण्टा १ सय ५० किलोमिटरको दरले आएको आँधीले थप बितण्डा मच्चाउन सक्ने भन्दै मौसमविद्हरुले चेतावनी जारी गरेका छन् ।
आँधीबाट सयौं सवारी साधनमा पनि क्षति पुगेको छ । आँधी प्रभावित सयौंलाई सुरक्षित स्थानमा सारिएको छ । हाइकुइ आँधी प्रसान्त महासागर हुँदै ताइवान प्रवेश गरेको हो । भारी वर्षा र आँधी अझै केही दिन जारी रहने भन्दै सर्वसाधारणलाई सकेसम्म घरभित्रै रहन अपील जारी गरिएको छ ।
आँधीबाट हङकङको जनजीवन पनि प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्