१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : सांसद केसी


104
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताउनुभएको छ ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरुलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गर्नुभएको हो ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भ्रष्टाचारको फायलहरु एकपछि अर्को खुलेपनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराउनुभयो । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरुको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको पटक-पटक दोहोर्‍याउनुभयो ।