१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता आवासको घर नबन्दा मुसहर परिवार खुला आकाशमुनि


156
Shares

काठमाडौं । महोत्तरीमा जनता आवासको घर ६ वर्षदेखि अधुरै हुँदा मुसहर परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

महोत्तरीको भंगहा नगरपालिकाका ३ का मुसहर बस्तीका बासीन्दाहरु समयमै घर निर्माण नहुँदा वर्षोदेखि समस्यामा छन् । केहि घरमा छानो हालिए पनि अझै अधिकांश घरमा छानो हालिएको छैन ।

पहिले बसोबास गरिरहेको घर भत्काएको र नयाँ घर अलपत्र अवस्थामा भएकाले केही परिवार विस्थापित हुन थालेका छन् । वडाध्यक्ष जितेन्द्र सिंहले सहरी विकास डिभिजन कार्यालयले भुक्तानी नदिँदा घरमाथि छानो हाल्न नसकेको बताउनुभयो ।

शहरी विकास तथा भवन कार्यालय धनुषाले भुक्तानी नै नदिएको उहाँको भनाई छ । उपभोक्ता समितिले काम भन्दा पहिले भुक्तानी मागेकाले काम नभएको बताउनुभयो । संघीय सरकारले आर्थिक वर्ष २०७३/७४ मा विपन्न परिवारको घर बनाइदिन जनता आवास कार्यक्रम ल्याएको थियो ।

मधेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनुषाले योजना हेरिरहेको छ । जनता आवास कार्यक्रम अन्तर्गत दुईकोठे पक्की घरको माथि जस्तापाताको छाना लगाउने कार्यक्रम छ ।