
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्याएको क्षति अवलोकन गर्नु भएको छ ।
उहाँले तत्कालको लागि राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने पनि बताउनुभयो । गत साउन २८ गते काग खोलामा आएको बाढीले कागबेनीका घर, पुल, सडक, व्यापारीक संरचना, होटल, विद्यालय, प्रहरी चौकी, कागबेनी श्राद्धस्थल, खानेपानीका पाइप लगायतमा क्षति पुर्याएको थियो ।
बाढीको पूर्वसूचना पाएकाले मानवीय क्षति भने भएको थिएन । क्षतिको अवलोकनपछि मन्त्री श्रेष्ठले क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने बताउनुभयो । तत्कालीन रुपमा प्राथमिक आवश्यकतालाई पूरा गर्दै प्राविधिक र योजनाविदको सुझाव अनुसार कागबेनीको पुनर्निर्माण गरिने उहाँको भनाइ थियो ।
संघ, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले आश्वासन दिनुभयो । उहाँले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिनसमेत स्थानीय प्रशासनलाई निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्