२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल


312
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव पोखरेलले अस्पतालहरुमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीको अपर्याप्तताका कारण सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै सेवा प्रवाहलाई सहज बनाउन दरबन्दी थप गर्नु आवश्यक रहेको बताउनुभयो ।

हाल मन्त्रालय अन्तर्गत ११ औं तहका नर्स ११ जना, ९ औं र १० औं तहका नर्स ४३ जना, ७ औं ८ औं तहका नर्सहरु १५८ जना त्यस्तै चौथो, पाँचौं र छैठौँ तहका नर्स ११ हजार १२६ जनाको दरबन्दी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, चौथो, पाँचौं र छैठौँ तहको पारामेडिक्स १७ हजार ६४१ जनाको दरबन्दी रहेको सचिव पोखरेलले बताउनुभयो । उहाँले अहिले चौथो, पाँचौ र छैटौं तहको नर्स २१ हजार २३४ जना आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी चिकित्सक ६ हजार ३२३ जना र पारामेडिक्स १० हजार ४७९ जना आवश्यक रहेकोले सोही अनुरुप दरबन्दी थप गर्नुपर्ने सचिव पोखरेलले बताउनुभयो । मन्त्रालयले यसको लागि दरबन्दी थपको प्रश्ताव समेत गरिसकेको उल्लेख गर्दै उहाँले प्रश्तावित दरबन्दीको लागि करिब ७ अर्ब ५९ करोड रुपैयाँ थप रकम चाहिने भएकाले सो रकम अर्थ मन्त्रालयले दायित्व लिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरुमा भीड बढ्दै जाने तर दरबन्दी बढाउन नसक्ने हो भने आगामी दिनहरु डरलाग्दो हुने बताउनुभयो ।

सचिव पोखरेलले राज्यको छात्रवृत्तिमा पढेकाहरुलाई पोष्टिङ गर्दा पर्ने आर्थिक दायित्व पनि अर्थमन्त्रालयले लिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा, सुविधाको पनि वृद्धि हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी, बैठकमा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जनशक्ति उत्पादनको नाममा न्युनतम स्तर नभएको जनशक्ति उत्पादन गर्नु घातक हुने बताउनुभयो । उहाँले गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँघरमा औषधि प्रयोगको अवस्था भयावह भएको भन्दै मेडिकल शिक्षा दिनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

सचिव पोखरेलले आगामी दिनमा प्राकृतिक चिकित्सामा पनि जोड दिनुपर्ने बताउनुभयो ।