७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु


7.41k
Shares

काठमाडौं । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट व्यावसायिक उडान भरेको छ ।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पैने ७ बजे पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर सवा ८ बजे थिम्पु फर्किएको हो ।

भारत,नेपाल र भुटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिएको थियो ।

सञ्चालनमा आएको ८ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित हुँदा चार्टड गरेर जहाज आउँदा पनि पोखरेलीले भव्य स्वागत र बिदाइ गर्ने गरिरहेका छन् ।