१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको प्रधानमन्त्रीको भनाई


65
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विक्षिप्त भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा सरकारले अभियान सञ्चालन गरेको दावी गर्नुभयो ।

जनतालाई राहत दिने र मुलुकमा सुशासन कायम गर्ने अभियानमा सरकार रहेको उहाँको भनाइ थियो । सरकारले मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्नका लागि निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको र त्यो काम आफू प्रधानमन्त्री भएदेखि नै थालिएको दाहालले बताउनुभयाे ।

सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको उहाँको तर्क छ । त्यस्तै, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिविरुद्ध प्रहारको प्रयास भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्दै परिवर्तनका उपलब्धि बचाउनुपर्नेमा उहाँको जोड छ ।

प्रधानमन्त्री दाहालले आगामी चीन भ्रमणले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेण्डा रहेको बताउनुभयाे ।