१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपालबाट जानेमा १० जना


6.786k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ ।

यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो । प्रधानमन्त्री दाहालले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यकता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले बढीमा १० जना हुने गरी नयाँ सूची तयार पारेको हो । यस्तै,अमेरिकाबाट न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापासहितक अधिकारीहरू र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट राजदूत श्रीधर खत्रीसहित अन्य अधिकारीहरु गरी थप १४ जना प्रतिनिधि मण्डलमा जोडिनेछन् ।

यससँगै महासभामा नेपालको तर्फबाट सहभागिता जनाउने प्रतिनिधि मण्डलको संख्या २४ जना हुनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उहाँको सचिवालयका दुई जना सुरक्षाकर्मी,स्वकीय सचिव गंगा दाहाल र फोटोग्राफर प्रदिपराज वन्त रहने छन् । यस्तै,पराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद मंगलबार नै पूर्व तयारीका लागि न्यूर्योक प्रस्थान गरिसक्नुभएको छ । साउदसंग उहाँका स्वकीय सचिव दीपकराज जैशी पनि न्यूर्योक गएका छन् ।

प्रधानमन्त्रीसँग परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलिप कुमार पौडेल र थप एकजना प्रोटोकल अधिकृत पनि रहनेछन् । प्रधानमन्त्री नेतृत्वको बाँकी प्रतिनिधि मण्डलमा ३० भदौमा महासभाको ७८ औं सभामा सहभागी हुन न्यूर्योक प्रस्थान गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले महासभामा नेपालका तर्फबाट ४ असोजमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि ५ असोजमा प्रधानमन्त्री दाहाल अमेरिकाबाट सीधै चीन प्रस्थान गर्ने कार्यसूची छ । अमेरिकाबाट चीन जाने भ्रमण दलको सूची भने अहिलेसम्म टुंगो लागि सकेको छैन ।