१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रहरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै


429
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललको कार्यालय काठमाडौमा बुझाउने भएको छ ।

प्रतिवेदन बुझाउनु अघि सीआइबीकी प्रमुख किरण बज्रचार्यले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतिवेदन बुझाउन लागेको जानकारी दिनुभएको हो । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्याद सम्बन्धी प्रावधानका कारण सिआइबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउन लागेको बज्राचार्यले बताउनु भयो ।

४२ जना प्रहरी अधिकारी सम्मिलित रहेको अनुसन्धान टोलिद्वारा आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५७ दिन पुगेकोछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्राबधान रहेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान र नेपाल प्रहरीको टोलिले सिनामंगलबाट तस्करीको सो परिमाणको सुन बरामद गरेको थियो । यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् जसमध्ये २३ नेपाली, ९ बिदेशी रहेका छन भने १८ जना फरार छन् । फरारमध्ये १४ बिदेशी र ४ नेपाली रहेका छन ।

सीआईबीका अनुसार पक्राउ परेका चिनियाँसहित ९ विदेशी र २३ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको हो । तस्करी भएको सुन हङ्गकङ्ग बाट आएको र भारत तर्फ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व,भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष सहित अनुसन्धान प्रतिबेदन बुझाउन लागेको हो ।

तस्बीर, दिपक श्रेष्ठ