७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आज कुशे औंशी, सनातन धर्मावलम्बीहरुले घरमा कुश भित्र्याउँदै


702
Shares

काठमाडौं । आज कुशै औंशी । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने गरिन्छ ।

वैदिक सनातन धर्मावलम्बीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याउने गर्दछन् ।

विहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन छ । पुरेतहरुले यजमानका घर घरमा कुश पुर्‍याइदिने पनि गर्दछन् । घरमा कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आज भित्र्याइएको कुश वर्षभरी प्रयोग गर्न मिल्ने, अन्य औंशीका दिन उखेलिएको कुश एक महिना प्रयोग गर्न मिल्ने र अरु दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न मिल्ने शास्त्रीय ब्याख्या रहेको छ । र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्वीहरुले कुशलाई पनि भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । यस अवसरमा आज जन्मदिने बाबुको सम्मान गर्ने चलन पनि रहेको छ ।

छोरा छोरीहरुले बाबुलाई मिठा मिठा खानेकुरा तथा उपहार दिएर सम्मान गर्ने चलन रहेको छ । बुवा नहुनेहरुले आज तीर्थस्थल तथा नदी वा तलाउमा गएर पितृको नाममा तर्पण दिने र सिदादान गर्ने चलन पनि रहेको छ । काठमाडौंको गोर्णेश्वरमा आज बिहानैदेखि पितृ तर्पण गर्नेहरुको भीड लागेको छ ।

देशका अन्य स्थानका तीर्थस्थलहरुमा पनि पितृ तर्पण गर्नेहरुको भीड लागेको छ ।