२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खेलाडीलाई प्रधानमन्त्रीको आग्रह – सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोस्


468
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्नेकुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने बताउनुभयो । उहाँले सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिन खेलाडीहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले एशियाली खेलकुद हेर्न आफू उदघाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताउनुभयो । नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।