
काठमाडौं । पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन भएको छ ।
२०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिका–४ मा पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तमोर कोरिडोर सडक निर्माण भएपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ ।
कोरिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । वारिपारिका कृषकको आवतजावतबाहेक अन्य प्रयोगमा नभएको स्थानीय बताए । स्थानीय पूर्वाधार तथा कृषि सडक र तत्कालिन जिल्ला विकास समिति पाँचथरको संयुक्त लगानीमा १६ दशमलव ३० मिटरको पक्की पुल निर्माण भएको थियो ।
एक करोड २८ लाख रुपैयाँको लागतमा इलामको गजुरमुखी निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको थियो ।
पुल निर्माण भए पछि एकातर्फ कृषकको खेती मासिएको छ भने बनेको पुल झाडीले छोपिँदै गएको छ । तमोर कोरिडोर अहिले सञ्चालनमा रहेको ट्रयाक पुलको पारिपट्टि जलुके पहिरामा क्षतिग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्