
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गर्ने भएको हो ।
सीआइबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ । सुन तस्करीमा संलग्न ३२ जनालाई कारबाहीका लागि पनि सीआइबीले सिफारिस गरेको छ ।
सीआइबीले कारबाहीका लागि सिफारिस गरिएका मध्ये १८ जना फरार रहेका छन् । तस्करहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सिआइबीको सुझाव छ ।
हालसम्म पक्राउ परेका मध्ये ९ जना विदेशी नागरिक छन् ।
प्रतिक्रिया दिनुहोस्