७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


इन्द्रजात्राको लिङ्गो आज काटिने


1.027k
Shares


काठमाडौं । काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज लिङ्गो आज काटिंदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको साइत अनुसार केन्द्रीय मानन्धर संघको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा गई लिङ्गो काट्ने कार्यक्रम रहेको छ ।

आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ । आज काटेको रुखलाई भोली असोज १ गते र २ गते दुई दिन लगाएर काठमाडौं पु¥याइने संघको युवा उपसमितिका संयोजनक गजेन्द्र प्रसाद मानन्धरले जानकारी दिनुभएको छ ।

लिङ्गो काट्न जाने टोलीले काठमाडौं ज्याठास्थित धालासिक्व टोलका न्हेसः नायःसँग समन्वय गर्नुपर्दछ भने चित्तपोलको सामुदायिक वनमा स्थानिय ताःथलीबासीको सहयोगमा लिङ्गो काट्ने गरिन्छ । लिङ्गो काटिसकेपछि त्यसलाई विधिपूर्वक पूजा गरी मानिसहरुले तानेरै काठमाडौंस्थित भोटाहिटीसम्म ल्याउने चलन रहेको छ ।

वर्षा र सहकालका देवता ईन्द्रको विशेष पूजा गरी मनाइने इन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाउने गरिन्छ । हरेक वर्ष भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन ईन्द्रध्वजोत्थान गरी सुरु हुने ईन्द्रजात्रा चौथी अर्थात् ईन्द्रध्वज पतनसम्म ८ दिन मनाउने गरिन्छ ।

यो वर्ष असोज ९ गते बिहान १० बजेर ३७ मा लिङ्गो ठड्याउने तथा ११, १२ र १५ गते रथजात्रा हुने र असोज १५ गते ईन्द्रजात्रा औपचारिक रुपमा समापन हुनेछ । यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुने गर्दछ । ईन्द्रजात्रा र इन्द्रध्वजोत्थानको वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।