
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विस्तार अभियान आइतबारदेखि सुरु भएको छ ।
आइतबार जनकपुरधाममा जसपा मधेश प्रदेश समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रमबाट अभियान सुरु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताउनुभयो ।
निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
अध्यक्ष यादवले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको बताउनुभयो । सबै अधिकार केन्द्रिकृत गरेर संघीयता बलियो हुन नसक्ने बताउनुभयो । उहाँले राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनै पनि निकायमा समावेशिता नरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले जबसम्म राज्यको हरेक निकायमा समावेशिता हुँदैन तबसम्म मुलुकले समृद्धि पाउन नसक्ने दाबी गर्नुभयो । मुलुकलाई समावेशी बनाउँदै संघीय लोकतन्त्र मजबुत बनाउनुपर्ने जिम्मेवारी आफूहरु समक्ष रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्