
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताउनुभएको हो ।
शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताउनुभयो । उहाँले ऐन कानून बिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताउनभयो । राईले संसद्ले छलफल नै गर्न नपाई संसद्मा दर्ता मात्रै भएको आधारमा केहि सरोकारवाला निकायहरुले आपत्ती जनाएको बताउनुभयो । उहाँले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसदमा प्रवेश गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले समतामुलक समाज निर्माणमा शिक्षाले अहम भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि शिक्षा विधेयक अपरिहार्य रहेको बताउनुभयो । संविधानले दिएको अधिकार उपभोग गर्न नयाँ शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले विधेयकमा धेरै नै परीमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि संसदीय समितिमा संशोधन हालेर परिमार्जन गरेर अगाडी बढाउन सकिने बताउनुभयो । मानव विकास सूचकाङ्कमा पछाडी परेका समुदायको शिक्षाको स्तर बढाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि संघीय शिक्षा विधेयक संसदबाट परिमार्जनसहित पारित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्