
काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ ।
मंगलबार बालुवाटारमा बसेको डा. कोइराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो ।
कांग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेण्डा तय गर्न बसेको बैठकले कार्यतालिका अनुसार सांगठनिक गतिविधि भए/नभएको समिक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्वन गरेको कार्यतालिकालाई अवरुद्ध गर्नु नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो । पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले बताउनुभयो ।
नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रिय समिति बैठकमा समिक्षा हुने बताउनुभयो । बैठकमा डा. शेखर कोईरला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्