
बझाङ । बझाङको सेती लोकमार्गमा बन्न लागेका तीन वटा पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरगत सेती लोकमार्गले निर्माण गर्न लागेका तीन वटै पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २०७५ सालमा काम सुरु गरेका निर्माण कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीय बताउँछन् ।
खप्तडछान्ना गाउँपालिका– ७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदारले निर्माण कार्य नसक्दै सम्पर्क विहीन बनेका कारण यहाँका नागरीकले समस्या झेल्नु परेको छ । पुलमा काम गर्ने मजदुरहरुले ५ वर्ष बितिसक्दा पनि ज्याला नपाएको उनीहरुको गुनासो छ ।
रकम असुल गर्न र पुल सञ्चालनका लागि भन्दै पटक पटक स्थानीय सरकारसंग समेत समन्वय गरेर रकम असुली गर्न आग्रह गरे पनि अहिलेसम्म सरोकारवाला निकायले ध्यान नदिएको उनीहरुको भनाइ छ ।
यस्तै, खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ र २ मा निर्माण हुन लागेको कालिपछाईको पक्की पुल र तमैल नजिकै जराडी गाडमा बन्न लागेको पक्की पुल पनि अलपत्र परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्