८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जनआन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छ : राष्ट्रपति पौडेल


130
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनआन्दोलनका उपलब्धिहरू माथि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ ।

बुधबार शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सुखद् भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको बताउनुभयो । उहाँले सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले देश र विश्वलाई प्रभावित पारिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो । उहाँले सयमले दिएको दायित्व पूरा गर्न राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकतावद्ध बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो । उहाँले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य रहेको बताउनुभयो । तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको भएपनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको बताउनुभयो ।