
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गर्नुभएको थियो ।
अध्यक्ष नेपालले गर्नुभएको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् । सोही प्रसंगलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनुभयो । उहाँले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताउनुभयो । उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताउनुभयो । उहाँले खाद्यान्न उत्पादन, कृषि उत्पादन,कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिनुभयो । उहाँले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।
अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्