
काठमाडौं । १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो । प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिइएकोे जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले चाडबाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र चेकजाँच बढाइएको र सोही क्रममा नक्कली नोट सहित दुई जना पक्राउ परेको बतायनुभयो ।
प्रतिक्रिया दिनुहोस्