२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ : कांग्रेस


208
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न काँग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताउनु भयो ।

यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काँग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताउनुभयो ।

छलफलमा कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो ।