
काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताउनुभएको छ ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताउनुभयो । उहाँले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताउनुभयो ।
शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै सांसद भट्टराईले यसले साधारण खर्च बढिरहेको बताउनुभयो । यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको उहाँले बताउनुभयो । सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गर्नुभयो ।
सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुले समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भिर रुपमा चासो लिनुपर्ने बताउनुभयो । उहाँले आजका दिनसम्म सुन तस्करी छानबिन सम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताउनुभयो । उहाँले आन्दोलनरत राहत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई तुरुन्त कक्षाकोठासम्म पुर्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्