
काठमाडौं । फुटपाथ ब्यापारीहरुको अधिकारका लागि भन्दै युवा अभियन्ता ईशान श्रेष्ठ नौ दिनदेखि सभागृह अगाडि उभिएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बेवास्ता गरेको भन्दै आलोचना भईरहेको बेला मेयर साहले आज अभियन्ता ईः लाई सम्बोधन गर्दै ७ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ ।
मेयर साहले फेसबुक मार्फत सार्वजनिक गरेको धारणामा अभियन्ता ईः का माग सम्बोधन गर्ने अधिकार आफूसँग नरहेको बताउनु भएको छ । सडक वा सडक पेटीमा ब्यापार गर्नु गैरकानुनी हो भन्दै मेयर साहले काठमाडौंका हजारौं रैथालेहरुका पुख्यौली घर जग्गा जबर्जस्ती अधिग्रहण गरी बनाइएका सडक व्यापार व्यावसाय गर्न दिनु ती मानिसहरुप्रतिको अन्याय हुने तर्क गर्नुभएको छ । ११ हजार मानिसका लागि फुटपाथमा व्यापार गर्न दिएर काठमाडौंमा बस्ने ५० लाख मानिसको अधिकार मिच्ने अधिकार आफूलाई नरहेको प्रष्ट पार्नुभएको छ ।
फुटपाथमा व्यापारका लागि निश्चित समय छुट्याउने भन्ने विषय पनि व्यवहारिक नभएको भन्दै उहाँले सडकमा कति बेला के हुन्छ र को हिंड्छ भन्न नसकिने बताउनु भएको छ । महानगरपालिकामा आएका एक हजार गुनासोमा फुटपाथको व्यापारले हिंड्न असहज भएको भन्ने सम्बन्धि रहेको भन्दै मेयर साहले सडक व्यापारीहरुलाई दिने खुला जग्गा पनि महानगरपालिकासँग नरहेको बताउनु भएको छ । महानगरपालिकाका कतिपय वडा कार्यालयहरु अहिले पनि भाडामा रहेको भन्दै खाली जग्गा नहुँदा सुविधायुक्त सार्वजनिक शौचालय बनाउन नसकेको दुखेसो पनि मेयरको छ ।
अभियन्ता ईः कसैबाट परिचालित हो भन्ने आफूलाई नलागेको भन्दै साहले संविधान र ऐन कानुनले नदिने कामका लागि आँखा चिम्लिनु पर्छ भन्ने माग तपाईको पनि होइन होला भन्नुभएको छ । आफू र उपमेयर सुनीता डंगोलले चुनावी वाचा नविर्सिएको जिकीर गर्दै साहले गरीबका लागि सधैं बोल्दिने काठमाडौं महानगरपालिका रहेको तर्क पनि गर्नुभएको छ । संसारबाटै गरीबी हटाउने हो गरीब होइन भन्दै उहाँले महानगरपालिकाले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्न दश करोड छुट्याएको र यसै वर्ष मात्रै १५ हजार जनालाई छात्रवृत्ति उपलब्ध गराएको स्मरण गराउनु भएको छ ।
केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णीम वाग्लेलगायत नेताहरुले माग पूरा गर्नुपर्छ भनेर दिएको दबावलाई राजनीतिक बेइमानी भन्दै साहले उहाँहरुले गरीबको पक्षमा नीति बनाएको खोई त ? भन्ने प्रश्न गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्