
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव विगार्ने गतिविधिमा सक्रिय रहेका बताउनुभएको छ ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा सामाजिक सद्भाव विगार्ने क्रियाकलापमा संघीयता विरोधीहरु सक्रिय रहेका बताउनुभएको हो । उहाँले सामाजिक सद्भाव विगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री यादवले संसारको कुनैपनि शक्ति संघीयताको बिरोधमा लागेपनि संघीयतालाई खारेज गर्न नसक्ने बताउनुभयो । उहाँले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरुलाई कारबाही गर्न नसकेको गुनासो गर्नुभयो । संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरुलाई कारबाही नगर्दा उनीहरुको मनोबल उच्च भइरहेको उहाँको भनाई छ ।
मुख्यमन्त्री यादवले संघीय सरकार समेत संघीयता बिरोधी रहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्