१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्याडमिन्टनमा नेपाल पराजित


975
Shares

काठमाडौं । प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ ।

बिनजियाम जिम्नाजियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो ।

पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन । यु–१९ विश्व वरीयतामा पूर्वनम्बर एक खेलाडी प्रिन्सको टोलीले निरिहपूर्ण प्रदर्शन गर्‍यो ।

सबैभन्दा पहिला खेलका प्रिन्स भारतका लक्ष्य सेनसँग २१-५ र २१-८ ले पराजित भए । दोस्रो सेटमा सुरुआती अग्रता लिएका प्रिन्सले त्यसलाई कायम राख्न सकेनन् । उक्त सेट पनि उनले सहजै गुमाउन पुगे ।

दोस्रो खेल खेल्न आएका सुनिल जोशीको प्रदर्शन पनि निरासपूर्ण रह्यो । उनले श्रीकान्त किदाम्बीसँग पहिलो सेट २१-४ ले सहजै गुमाए । दोस्रो सेटमा उनले सुधारिएको खेल देखाए पनि आफ्नो पक्षमा पार्न सकेनन् । उक्त सेट पनि सुनिलले २१-१३ ले गुमाएपछि नेपालको हार पक्का भयो ।

तेस्रो खेलमा विष्णु कटुवालले मिथुन मन्जुनाथसँथ २१–२ र २१–७ ले हार व्यहोरेपछि नेपालले मेन्स टिम प्रतिष्पर्धा ३–० ले गुमायो ।