
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रश्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताउनुभयो । उहाँले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाउनुभयो ।
उपाध्यक्ष पौडेलले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्था गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या,चुनौति र कठिनाईहरु सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताउनुभयो । उपाध्यक्ष पौडेलले बजारमा मागमा कमि आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष पौडेलले मुलुकको राजस्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताउनुभयो । उहाँले राजस्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गर्नुभयो । उहाँले राजस्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसदले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्