१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कपिलवस्तुमा पहिलो पटम रोबोटिक्स तालिम, उत्कृष्ट १० विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने


650
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुमा विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणको क्षमता प्रस्फुटन गराउन रोबोटिक्स तालिमको आयोजना गरिएको छ । तालिमपछि उत्कृष्ट विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने छन् भने उत्कृष्ट १० विद्यार्थीले सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

कपिलवस्तु जिल्लामा पहिलो पटक विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता प्रस्तुत गर्न रोबोटिक्स तालिमको आयोजना गरिएको छ । अध्ययनलाई कक्षा कोठामै सिमित राख्ने विद्यार्थी यतिबेला आफ्नो क्षमता देखाउन सामुहिक रुपमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुमध्ये कोही कागज काट्छन्, कोही रङ्ग र्भछन्, भने कोही तार जोड्ने गर्छन् । ती सामाग्रीहरु जोडेर रोबोटिक उपकरण बनाउने उनीहरुमा चटारो छ । पहिलो पटक रोबोट बनाउँदा वैज्ञानिक भएको महसुस भइरहेको विद्यार्थी बताउँछन् ।

विज्ञान र प्रविधिप्रति रुचि राख्ने विद्यार्थीले विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिङको प्रयोग गरी उपकरण बनाउन लागेका हुन् । हिलवर्ट अङ्ग्रेजी बोर्डिङ स्कुलका ६५ जना बालबालिका बिहीबारदेखि यसमा जुटेका छन् । प्रविधितर्फ बालबालिकाको उत्सुकता बढाउन तालिम सञ्चालन गरिएको रोबोटिक एसोसिएसन नेपालका इन्जिनियर राज यादवले बताउनुहुन्छ ।

बालबालिकाले अटोमेटिक बन्द र खुला हुने सडक बत्ती, ग्यास लिक हुँदा साइरन बजेर सङ्केत दिने उपकरण, विद्युतीय गाडी, अटोमेटिक सेनिटाइज गर्ने मेशिनजस्ता रोबोटिक उपकरणका नमुना निर्माण गरेका छन् । प्रविधिमा विश्व अगाडि बढिरहेका बेला विद्यार्थिलाई पनि अध्ययनसँगै प्रविधिमा अगाडि बढाउन रोबोटिक्स तालिमको आयोजना गरेको हिलवर्ट इङ्गलीश बोर्डिङ्ग स्कुलका प्रध्यानाध्यापक बुद्धि पौडेलले बताउनुभयो ।

देशभरिका तीन सय विद्यालयहरुमा तालिम सञ्चालन भएको रोबोटिक एसोसिएसन नेपालले जनाएको छ । तालिमपछि उत्कृष्ट विद्यार्थी राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने छन् । उत्कृष्ट १० जना विद्यार्थी नेपालको प्रतिनिधित्व गर्दै अक्टोबरमा सिङ्गापुरमा हुने १८ वर्षमुनि उमेर समूहको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने एसोसियसनले जनाएको छ ।