
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सरकारलाई गतिछाडाको संज्ञा दिनुभएको छ ।
हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाह गरेको दृष्टान्त पेस गर्दै पूर्वन्यायाधीश केसीले सो टिप्पणी गर्नुभएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरुले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरुबाटै भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा शासन, सुशासन, संवैधानिक कानूनको पालना खड्किएको छ । यति वदमासी कहीँ पनि हुँदैन । यो कस्तो भएको छ भने एउटा डिक्टेटरले चुनिएको सरकारलाई फालेर सेनाले राज्य गरेको देशमा जुन मनपरी हुन्छ नि । अहिले त्यस्तै मनपरी भइरहेको छ । एक जना महिलाले न्याय पाउनका लागि सर्वोच्च अदालतमा आउनु पर्यो । आज भन्दा दुई दिन अघि सर्वोच्च अदालतको प्राङ्गणमा एक जना महिला लोग्ने मारिएको थियो । सरकारले हत्यारालाई सरकारले माफी दियो । यसले समाजनै अस्तव्यस्त हुन्छ भनेर छोडनु हुँदैन भनेर ती महिला सर्वोच्चमा गुहार्न आउनुभयो । त्यो किन हुनगयो ? सरकार गतिछाडा भयो ।’
पूर्वन्यायाधीश केसीले संविधान, कानूनको पालना गराउने काम खड्किएको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न कानून व्यवसायीहरु लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरु आफैंले संविधान मिच्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानून व्यवसायीहरुले खबरदारी गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।
श्रेष्ठले न्यायालयमा विधिको शासन, कानूनी राज्यको स्थापना गराउने काम कानून व्यवसायीहरुको रहेको पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्