
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको चापाकोट नगरपालिकाका वरिष्ठ अहेव बिन्दुकान्त कोइरालाविरूद्ध अकूत सम्पति आर्जनको मुद्दा दायर गरेको छ ।
२०५४ सालमा जागिरमा प्रवेश गरेका कोइरालाले २०७८ सालसम्ममा ९० लाख ३९ हजार रुपैयाँ बढी स्रोत नखुलको सम्पति आर्जन गरेको आरोपसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
कोइरालाले जागिरको उक्त अवधिमा दुई करोड ९७ लाख ८१ हजार आर्जन गरेकोमा उनले तीन करोड ८८ लाख २१ हजार बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको पनि अख्तियारले जनाएको छ ।
आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोत नखुलेपछि छानबिन गर्दा भ्रष्टाचार देखिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा राखेको पाइएको पनि अख्तियारले जनाएको छ ।
अख्तियारले अहेब कोइराला र श्रीमती गीताविरुद्ध बिगो बमोजिम कारबाहीको माग दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्