१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


चुनावमा करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियो : सांसद शर्मा


234
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाउनुभएको छ ।

शनिबार सिंहदरबारमा आयोजित सम्पती शुद्धीकरणसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले चुनावी प्रयोजनका लागि करोडौँ रुपैयाँ असुली गर्नका लागि सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गर्नुभएको हो ।

सांसद शर्माले देशमा कानूनलाई टेकेर नै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले क्यासिनो संचालनका लागि तोकिएको पैसाको सीमाको दायरा बढाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

अर्की सांसद नागिना यादवले देशको हीत हुने गरी सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन र रेमिट्यान्समा आधारित मुलुक भएको उल्लेख गर्दै उहाँले पर्यटकहरुका लागि उपयोगी हुने खालका कानून निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद यादवले सम्पत्ति शुद्धीकरण सम्बन्धि विधेयकलाई यथास्थितिमा पारित गराउने पक्षमा आफूहरु नरहेको पनि पटकपटक दोहोर्‍याउनुभयो ।